Admission Open एक दिवसीय अभिमुखिकरण कार्यक्रम सम्बन्धि सूचना फेरी भेटाैला कार्यक्रम भर्ना खुल्याे भर्ना खुल्याे भर्ना खुल्याे Happy New Year 2082 शैक्षिक शत्र २०८१ को नतिजा प्रकाशन सम्बन्धी सूचना निःशुल्क अतिरिक्त कक्षा सम्बन्धी सूचना !! चमेना गृह सञ्चालन गर्ने सूचना Admission Open For Class XI Congratulation Yunisha Koirala
  1. Home
  2. News

सामुदायिक विद्यालयमा काजु उत्पादन

सिन्धुली - विद्यालयको पश्चिम तिर हरियो फाँट छ । वरीपरी काँडेतारले घेराबार गरिएको छ । ताल्चा लगाइएको मुल गेटमा लेखिएको छ - उमावि लदाभिर, दुधौली ६ सिन्धुली ।  विद्यालयको परिसरमा रहेको बगैँचामा लटरम्मै फलेको आँप, र भूईंकटहरका रुख छन् । छेउछेउमा नरिवलको रुख हुर्किदैँछ । अझ रोचक त के छ भने विद्यालयले काजु फलाइरहेको छ ।  सरकारले विद्यालय तहमै प्राविधिक शिक्षा सुरु गर्दा लदाभिरको नमुना माध्यमिक विद्यालयले पनि नौ कक्षादेखि कृषि विषय पढाउने अनुमति पाएको थियो । विद्यार्थीलाई प्रयोगात्मक कक्षा सुरु गर्न भारतबाट काजुको बेर्ना ल्याएर रोपिएको थियो । अघिल्लो वर्षसम्म फाट्फुट्ट मात्रै फलेको काजु यसवर्ष भने लटरम्मै फलेको छ । पछिल्लो केही महिनादेखि फल टिपेर भण्डारण गरी राखेको विद्यालयका प्रधानाध्यापक मोहन शाही ठकुरीले बताए ।  ‘एक क्विण्टल जति फल टिपिसकेका छौँ’ उनले भने, ‘यसलाई प्रशोधन गरेर बिक्रि गर्दा पनि हुन्छ तर, हामीले बेर्ना उत्पादन गरेर बिक्रि गर्ने तयारी गरेका छौँ ।’ विद्यालयको २६ बिघा जग्गा मध्ये दुई बिघामा बागबानी सञ्चालन गरिएको छ ।  जहाँ दशहरी, माल्दो, कलकत्ते, अम्रपालि जातको आँप फलाइएको छ ।  असारको पहिलो साता तिर विद्यालय पुग्दा रुख कटहर टिप्ने बेला भएको थियो।  काजुको १० वटा बोटमा फल लागेको छ । अरु फलको खानेकुरा भित्र हुन्छ भने काजुको फल बाहिरै छ ।  ‘यसपाली सबै बोटमा काजु फलेको छ’ प्रधानाध्यापक ठकुरीले भने ।  काजुको बजार मुल्य प्रतिकिलो एक हजार पाँच सय रुपैंया भन्दा बढी छ । सय किलो मात्रै प्रशोधन गरेर बिक्रि गर्ने हो भने पनि एक लाख ५० हजार रुपैंया भन्दा बढी विद्यालयले आम्दानी गर्न सक्छ ।  ‘यसपाली प्रशोधन भन्दा बिरुवा उत्पादन गर्न लागेको छौँ । यो हावापानीमा काजु खेती हुने रहेछ भन्ने प्रमाणित भयो’ प्रधानाध्यापक शाहीले भने, ‘कातिक मंसिरमा बिरुवा उत्पादन तिर जान्छौ । जेठ असारमा बिक्रि गर्छौँ ।’  अब काजुको बिरुवा खोज्न भारत जानु पर्ने बाध्यताको पनि अन्त्य हुने उनले बताए । जंगल र खोला छेउको खेर गएको जग्गामा काजु खेती गर्न किसानसँग सम्पर्कमा समेत रहेको उनले बताए । विद्यालयले अमला, नास्पाती, अनार, सुन कागती, जमुना, अम्बा पनि लगाएको छ । बाली विज्ञान पढेका विद्यार्थीलाई धेरै थरीको फलफुलको ज्ञान दिन थोरै भए पनि बिरुवा खाजेर बागबानीमा हुकाएको उनले बताए ।  बागवानीमा व्यवसायिक खेती भन्दा पनि प्रयोगात्मक केन्द्रका रुपमा विकास गरिरहेको शाहीले बताए । नौ देखि १२ कक्षा सम्मका दुई सय विद्यार्थीले यही बागवानीमा कुटो कोदालो चलाउँछन् । किताबमा पढेको ज्ञान यहीँ उमार्छन् अनि उत्पादन गरेर दंग पर्छन् । उत्पादन भएको फलफूल विद्यालयले बिक्रि गरेर विद्यार्थीको सिकाइमै खर्च गर्ने गरेको छ । यस वर्षदेखि लहरे तरकारी खेती पनि सुरु गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्वयन इकाईसँग साझेदारी गरेर फलफूलको रुख भएको बिचको खाली जग्गामा लहरे तरकारी खेती लगाइएको छ । इकाई र विद्यालयको साँझेदारीमा पाँच लाखको आयोजनामा लहरे खेती भइरहेको उनले बताए । दुई लाख ५० हजार रुपैंया विद्यालयको समेत लगानीमा खेती भइरहेको उनले जानकारी दिए ।  विद्यालयले कागतिका बिरुवा पनि लगाएको छ ।  ‘इण्टर कल्टिभेसन रुख लगाएको खाली ठाउँमा लहरे खेती गर्न खोजेका छौँ’ उनले भने ।  लहरे तरकारीमा काँक्रा, करेला, फर्सी, लौका लगाईएको छ । प्राविधिक विषयको कोर्डिनेटर सामना राईले बगैँचामा फल फलाउने काम मात्रै नभई व्यवसायिक काम कसरी गर्ने भन्ने कुराको सिकाइ जारी रहेको बताइन् ।   ‘विद्यालयले आँपको अचार, जाम बनाएको छ । त्यस्तै विद्यार्थीलाई आँपको लस्सी बनाउन पनि सिकाउने गरिएको छ,’ उनले भनिन् ‘काजु टिपेपछि छेउको भाग (काजु एप्पल) बाट पनि जाम बनाउने गरिएको छ । ’  कहिले काँही विद्यार्थीलाई खाजाका रुपमा पनि यहीँका फलफूल खुवाउने गरिन्छ ।  तर, थन्कियो माहुरीको घार  बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरेर विद्यालयले प्रदेशको बजेटबाट सिक्दै कमाउँदै कार्यक्रम अघि बढाएको थियो । ४० घार माहुरी पनि राखेको थियो । त्यस्तै च्याउ खेती पनि थियो । अहिले न च्याउ खेती छ न त कुनै घारमा माहुरी नै छ । अहिले बागबानी बनाएको ठाउँमै माहुरीको घार राखिएको थियो । त्यहाँ त अहिले माहुरी मात्रै होइन घार पनि छैन । च्याउ खेती पनि बन्द भएको छ ।  ‘प्रयास गर्‍यौँ तर, सफल हुन सकेनौँ’ प्रधानाध्यापक शाहीले भने,‘यसको व्यवस्थापन गर्न छुटटै जनशक्ति राख्न सकेनौँ । ४० घार माहुरी मध्ये अहिले एउटा मात्रै बाँकी छ ।’  विद्यालयको प्रशासनिक भवनको ढोका छेउमै माहुरीको एउटा घार छ त्यहाँ पनि फाट्ट फुट्ट मात्रै माहुरी आउजाउ गर्छन् । एक विद्यालय एक उद्यम योजनामा विद्यालयले माहुरी पालन सुरु गरेको थियो । पहिलो वर्ष माहुरी पालन फष्टाए पनि दोस्रो वर्षदेखि कोभिड लागेपछि फष्टाउन नसकेको उनले बताए ।  ‘भण्डाराबाट प्राविधिक ल्याएर पहिलो वर्ष राम्रो भयो । माहुरीको स्याहार गर्ने १२ को त्यो ब्याच पनि बाहिरियो । कोभिड पनि भयो त्यसपछि माहुरी पालन फष्टाउन सकेन’ उनले भने ।  विद्यालयको बागवानीमा फलफूल र तरकारी खेती फष्टाउन थालेपछि व्यवहारिक अभ्यास गर्न विद्यार्थीलाई अरु कम्पनिको फार्म हाउस जानु पर्ने वाध्यता पनि टरेको छ । 
Top