Admission Open एक दिवसीय अभिमुखिकरण कार्यक्रम सम्बन्धि सूचना फेरी भेटाैला कार्यक्रम भर्ना खुल्याे भर्ना खुल्याे भर्ना खुल्याे Happy New Year 2082 शैक्षिक शत्र २०८१ को नतिजा प्रकाशन सम्बन्धी सूचना निःशुल्क अतिरिक्त कक्षा सम्बन्धी सूचना !! चमेना गृह सञ्चालन गर्ने सूचना Admission Open For Class XI Congratulation Yunisha Koirala
  1. Home
  2. About Us

विद्यालयको परिचय

१.१ ऐतिहासिक पृष्ठभूमि

श्री नमुना माध्यमिक विद्यालय लदाभीर बागमती प्रदेश सिन्धुली जिल्ला दुधौली नगरपालिका अन्तर्गत सिङ्गो शैक्षिक क्षेत्रको साख राख्न सफल भएको छ । सुगम र उर्वर भूमि भएकै कारण उच्च जनघनत्व भएर यस विद्यालयको सेवा क्षेत्र वृहत भएको भन्नु अयुक्ति हुन्न नै । वि.सं २००३ सालमा अनौपचारिक रुपमा स्थापना भएको तथ्याङ पाइएता पनि २०१५ सालबाट चाहिँ चुनौपचारिक रुपवाट सञ्चालन भएको यसको ऐतिहासिक अध्ययनबाट प्रष्टिन्छ । अनौपचारिक स्थापना कालमा यो विद्यालय विभिन्न ठाउँहरुमा स्थानान्तरण भएको पाइन्छ भने श्री सम्पतलाल अधिकारी तथा रविलाल अधिकारी लगायत अन्य कुशल व्यवस्थापकहरुको साथ र सहयोगबाट विद्यालय सञ्चालन हुँदै गएको प्रष्टिन्छ । २०१५ सालबाट औपचारिकता पाएको यस विद्यालयले श्री कृष्ण व गिरी, श्री पदम कुमारी घले जस्ता ओजस्वी व्यक्तिहरुले व्यवस्थापकीय भूमिका निर्वाह गर्नुभयो। अन्तत श्री राजवंशी लाल कर्ण प्र.अ. र श्री पदम कुमारी घले अध्यक्ष रहनु आजको यस वर्तमान भूभागमा यो विद्यालय झाङ्गिन पुगेको तथ्य घाम जत्तिकै छर्लङ्ग छ। श्री मोहन ब. राउत, भैरव व राउत तथा कृष्ण व. गिरी लगायत थुप्रै यस्तै अन्य व्यक्तित्वहरुको साथ र सहयोगमा २०३१ सालमा भवन निर्माण भई बल्ल यस विद्यालयले नि.मा.वि. तहको कक्षा सञ्चालन गर्न सफल भयो। त्यसैगरी २०३४ सालबाट मा.वि. तह सञ्चालन हुन पुग्यो । मा. वि. तह सञ्चालन संगै तत्कालीन प्र.अ. स्व.श्री ठाकुरनाय शर्माको यस विद्यालयको स्तरोन्नतिमा अविस्मरणीय योगदान पुगेको छ ।  वि.स २०५१ मा विद्यालयका तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष श्री गगा प्रसाद गिरीको संयोजकत्वमा १०+२ कक्षा सञ्चालन गर्ने प्रकियामा रङ्गलाल गुरुङ्ग, अशोक गुरुङ्ग, मोहन शाही ठकुरी, गणेश शाही जस्ता समाजसेवी एवम मा.वि. लदाभिरका तत्कालिन शिक्षक, कर्मचारीहरुको महत्वपूर्ण योगदान रहयो ।२०५२ सालबाट कक्षा १२ अनुमति लिई भरतवावु बानियाँको संयोजकत्वमा कुशल नेतृत्वका साथ पठनपाठनमा बढोत्तरी भएको पाइन्छ। २०६५ सालबाट वाणिज्य तथा २०६८ बाट विज्ञान संकाय समेत सञ्चालन हुँदै आएको छ। विभिन्न आरोह अवरोहका बावजुत यस विद्यालयमा मानविकी, शिक्षा, वाणिज्य जस्ता संकायहरुमा कुलताका साथ पठनपाठन हुँदै यो विद्यालय आज समाहित तथा एकीकृत शिक्षा दिन समेत सफल भएको छ। समयको कालखण्ड सगै परिवर्तित समाजको आवश्यक्तालाई हृदयङ्गम गरी केही समय यसै विद्यालयमा स्नातक तहको समेत पढाइ भएको इतिहास छ ।यसरी यस विद्यालयले शिक्षाको क्षेत्रमा गरेको सङ्कल्पलाई नियाल्दा साच्चि नै यस क्षेत्रलाई युगन्तकारी परिवर्तन गरिदिएको भन्नु सान्दर्भिक देखिन्छ । विगत देखि वर्तमान सम्म प्राचार्य रहनु भएको सबै मान्यवरमा यसको श्रेय जान्छ नै। वर्तमान प्राचार्य श्री मोहन शाही ठकुरीबाट शैक्षिक सुधार र सामाजिक समुन्नतिका लागि गर्नुभएको योगदान सबैमा अविस्मरणीय नै रहन्छ । व्यावसायिकता तर्फ आकृष्ट आजको यस भूभागमा कृषिधार तर्फ बाली विज्ञान ९– १२ सञ्चालन हुनु यस विद्यालयको थप पहिचान हुन पुगेको छ ।
१.२. भौगोलिक अवस्था ः
    श्री नमुना मा.वि.लदाभिर दुधौली नगरपालिका वडा न. ९, खिरियानीमा अवस्थित छ । यो समुद्री सतहबाट १८२ मी. उचाइमा अवस्थित छ। यो २६० ५७ु उत्तरी अक्षांश र ८६० १७ु पूर्वी देशान्तरमा फैलिएको छ। यहाँ अर्धोष्ण हावापानी पाईन्छ। विद्यालय वरिपरिको समबर भूभाग कमला नदीद्धारा सिञ्चित उब्जाउ भूमि छ । यो विद्यालय कमला नदीको उत्तर पूर्वतर्फ र वैकल्पिक राजमार्गको दक्षिणतर्फ अवस्थित रहेको छ ।
१.३ समुदायको बनोट:
    यस विद्यालय रहेको क्षेत्रमा सम्पूर्ण जातजातिको थोर बहुत वसोवास रहेको भएतापनि अधिकाश वासिन्दाहरु दनुवार जातिका रहेका छन् । यस विद्यालयको सेवा क्षेत्र अन्तर्गत तराई क्षेत्रबाट व्यापारका लागि आएर बसोबास गरेका सुंडी, तेली, हलुवाही, कलवार र यादवहरु छन् । यस्तै गरी यस क्षेत्रको उर्वराभूमिबाट प्रभावित भई पहाडबाट बसाई सरी आएका र कृषिलाई मुख्य पेशा सम्हालेका पहाडेमूलका जातिहरुमा ब्राह्मण (आचार्य, भट्टराई, बराल अधिकारी, दहाल, भण्डारी आदि) क्षेत्रीहरुमा खड्का, कार्की, राउत, थापा, कटुवाल, बानियाँ, बस्नेत, बुढाथोकी आदि रहेका छन्। यिनीहरुको मुख्य पेशा कृषि भएपनि स्थानीय राजनीति, समाजसेवामा समेत संलग्न रहेको पाइन्छ । अन्य जातजातिको तुलनामा ब्राह्मण, क्षेत्रीहरु शिक्षित र चेतनाशील रहेको पाइन्छ । पहाडी भूभागबाट बसाईं सरी अएका अन्य जातिहरुमा मगर, सुनुवार, गुरूङ्ग, तामाङको संख्या पनि यस विद्यालयको सेवाक्षेत्र भित्र उल्लेखनीय नै देखिन्छ । यी जातिहरुको मुख्य पेसा कृषि भएपनि वैदेशिक रोजगार, सरकारी सेवा तथा अन्य क्षेत्रहरुमा पनि संलग्न भएको पाइन्छ । यसैगरी दमाई, कामी, सार्की, मुसहर, डोम, चमार जातिहरु यस क्षेत्रमा रहेका छन् । यिनीहरुको आर्थिक पक्ष अत्यन्तै कमजोर भएको कारण यिनीहरु कृषि, मजदुरी, भरिया र अन्य व्यक्तिको घरमा काम गर्ने जस्ता कार्यमा संलग्न रहेको पाइन्छ ।

१.४. सेवाक्षेत्रको परिभाषा :
यस विद्यालय कमला नदीको पूर्वतर्फ अवस्थित छ। यसको उत्तरी क्षेत्रमा महाभारत पर्वत श्रृङ्खलाका विशाल जंगल र दक्षिणतर्फ चुरेपहाडको संरक्षित वन क्षेत्र वीचमा पर्दछ । यसको पूर्वमा उदयपुर जिल्लाको तावा नदी, दक्षिण पश्चिममा कमला नदी रहेको छ । यस विद्यालय दुधौली नगरपालिकाको मध्य भाग दुधौली–भिमान सडकको बीचमा पर्दछ भने यस क्षेत्रलाई सडक संजालले छोएको छ । खासगरी यस विद्यालयको सेवा क्षेत्रभित्र दुधौली नगरपालिका वडा नं. १० अन्तर्गतका पतियानी, सिमलडाँडा, कोगटी, कर्था, घयलफोरा, वडा नं. ९ अन्तर्गतका खिरियानी, बुधवारे, लखनपुर, लखिमा, कट्टिलखनपुर, दुधौली बजार, नरकटे, जितपुर, ऑपडाँडा, तिताकोनी, मटियारी र दुधौली नगरपालिका वडा नं. ८ अन्तर्गतका डाँडाटोल, सालघारी, वटाहा समेत पर्दछन् ।

 

 

Top