व्यथिति र भ्रष्टचार गोडमेल गरी
शक्तिकेन्द्र धाउने हर्दम देवालय सरी ।
बबुरो त्यो शिक्षक एउटा पाठ घोकाउने
अन्याय र व्यथितिलाई डाँडो कटाउने ।।
ताते ताते हिड्ने बालक क ख सिकाउने
शिक्षा दिई भरपूर्ण समाज मिलाउने ।
नीति नियम बनाउने सत्ता शासन गर्ने
शिष्य आफ्नो कानुन लेख्छ गुरु भोकै मर्ने ।।
अनुशासित मेहनती बन्नु पर्छ भनी
हौसला र प्रेरणाका सौगात बाँड्ने अनि ।
कुमार्ग र सुमार्गको रेखाङ्कन गरी
काखमा राखी सिकाउने आफ्नै सन्तान सरी ।।
राष्ट्रपति प्रधानमन्त्री कानुन शिक्षा हुँदै
खै त सम्¥झ्यौ गुरुलाई बस्नुपर्ने रुँदै ।
प्रफुल्ल त्यो गुरु तिम्रो कति बन्थ्यो अरे
प्रगतिका सन्देश लिई तारिफ तिम्रै भरे ।।
नियमन निकायमा पदार्पण गरी
उच्च पदमा आसीन भयौ न्यायमूर्ति सरी ।
घाटबारेको पर्याय त्यो निरिह नै भयो ,
मैन बत्ती जले झैँ नै पूरा जीवन गयो ।।
अँध्यारोमा आलोक छर्ने उदत्त छ छात्ती
पेशाप्रति निष्ठावान स्वार्थ राखी थाती ।
रङ्क पनि भूप पनि छैनन् सम्मान दिने
सङ्कट आयो जीवनमा आदर कसको लिने ।।
जब हुन्छ आफ्नो मुटु पराइको साथ
शासक बने चेला आफ्नै छैन उच्च माथ ।
अहङ्कार त्याग बाबु गुरु चिन्न थाल
अन्यायको घेरा तोडी न्यायिक टुकी बाल ।।
डाँडाकाँडा सबैतिर शिष्यकै छ रबाफ
तर पनि तिरस्कृत कसले देला जवाफ ।
आधा हामी पिल्सिएका लाग्दा भयो चोट
स्वाभिमान गुम्यो हाम्रो छैन केही खोट ।।
जीवनको इतिहास दर्पण जस्तै मानी
गुरुलाई आदर गर आमाबाबु ठानी ।
भ्रुण पनि मौलाउन जल पर्नु पर्छ
जीवन प्राण भर्ने काम तिम्रो गुरु गर्छ ।।